
बुधवार , आषाढ ११, २०८२
भैरहवा, ११ असार । रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घन्टे) निःशुल्क भिएफडी तालिमको भैरहवामा समापन गरिएको छ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) समन्वयमा तालिम भएको हो ।
समापन कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले यो तालिमले युवा पुस्तालाई प्रविधिमैत्री, दक्ष र प्रतिष्पर्धी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आजको युग प्रविधिमा द्रुत गतिमा अगाडि बढिरहेको साथसाथै अबको यात्रामा सीपहरुलाई व्यवहारमा उतारी रोजगार सिर्जना गर्ने, आत्मनिर्भर बन्ने तथा उद्यमशीलता बढाउने दिशामा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले प्रशिक्षार्थीलाई समयसापेक्ष व्यवसायिक र अत्यन्तै आवश्यक विषयमा तालिम लिने अवसर मिलेकाले अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्तिको माग बढ्दो भएकाले तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु र व्यवसायिक क्षमता बढाउन भिएफडी तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले यस तालिमले नयाँ उद्योगमैत्री सीप व्यवहारिक ज्ञान र आधुनिक सोच प्रदान गर्ने बताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका अखिलेश कुमार यादवले यस तालिममा प्रशिक्षार्थीहरूले देखाएको लगनशीलता, अनुशासन र जिज्ञासाले आफू प्रभावित भएको भविष्यमा पनि सिकाइप्रतिको यो उत्साह जोगाइराख्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले विद्युत तथा इलेक्ट्रोनिक्स प्रणालीमा भीएफडी एक महत्वपूर्ण प्रविधि भएको जसले विद्युत मोटरहरूको गति नियमन गर्न मद्दत गर्ने, उर्जा बचत, यन्त्रको दीर्घायु तथा दक्ष उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रशिक्षार्थीकोतर्फबाट मंगलम इण्डष्ट्रीजका हृदयेश मिश्रले १६ दिनमा धेरै कुरा सिक्न पाएको र सिकेको ज्ञानलाई आजैबाट व्यवहारमा उतारी उद्योगलाई दीर्घकालीन रूपमा सफल बनाउन लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग व्यापार संगठन, रूपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारीकोे सहभागीता रहेको थियो । रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको हो ।
कार्यक्रममा १६ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको मुख्य उद्देश्य प्रशिक्षार्थीलार्ई भिएफडीको प्रयोग, स्थापना, सञ्चालन र मर्मतसम्भार सम्बन्धी व्यवहारिक र सैद्वान्तिक ज्ञान दिइ प्राविधिक दक्षता अभिवृद्धि गर्दै रोजगारी र स्वरोजगारका अवसरहरूमा सहयोग पुर्याउनु रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij