२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो

शुक्रवार , आषाढ २७, २०८२

भैरहवा, २७ असार । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) ले खतराको सूचीमा पर्नबाट जोगाउन कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजीसहित संरक्षण र विभिन्न सुधारका कामहरु आयोजना गर्नुभएको थियो ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदा विज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो । 

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो । 

पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औं सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समापन हुनेछ । साथै  गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिङ्ग) लगायतको टोली पेरिसमा सहभागी हुनुहुन्छ ।
विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम समेत गरिएको थियो । अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको हो ।

WhatsApp Image 2025-07-11 at 5.46.18 PM.jpeg

उपाध्यक्ष डा. लामाले पेरिसमा एक हप्ता अघिबाट फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिनसहित विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरुसन्ग भेटवार्ता तथा छलफल गर्नुभएको छ ।