२०८३, श्रावण १५ गते

Jul 31 2026 | २०८३, श्रावण १५ गते

तराईबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल सुरु

शुक्रवार , श्रावण १५, २०८३

  • 25
    Shares
  • 25
    Shares
  • काठमाडौं, १५  साउन । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल सुरु गर्नुभएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदहरु रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा,  रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित हुनुहुनेछ ।

    प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गर्नुभएको थियो ।प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री शाहले सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाउनुभएको थियो । प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताउनुभएको छ ।

    छलफलमा प्रधानमन्त्री शाहले मधेशमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा माग्नुभएको थियो । 
    छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरुले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो ।

    प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेताहरुले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
    छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको र आफूहरूले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको बताउनुभयो।

    यस्तै, राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउनुभयो । उहाँले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गर्नुभयो । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताउनुभयो ।
    छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।