२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन बोर्डद्वारा विभिन्न देशका राजदूतहरुसंग पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया

बुधवार , श्रावण ६, २०७८

काठमाडौं, ६ साउन ।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिएका थिए । उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति, प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिए । सिइओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउ‘ंदै बोर्डले दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताए ।

कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राखे । उनले बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुदिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल लैजान सकिने बताए । उनले लामो समयदेखि हुन नसकिरहेको उच्चस्तरीय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताए ।  यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए । 

त्यस्तै भारतस्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् । उनले भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेजसहितको बजारीकरणलाई जोड दिनुपर्ने बताए । 

श्रीलंकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाको लागि प्रमुख आर्कषण लुम्बिनी भए पनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताए । उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताए । 

विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसंग भच्र्युअल अन्तरक्रिया गरेको थियो । बोर्डले यस अघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मिडिया कन्सल्टेनट टीपी भुसालले बताए ।