२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्राविधिक जनशक्तिको पर्खाइमा गौतमबुद्ध विमानस्थल

९३ प्रतिशत काम सकियो

शनिवार , भाद्र २७, २०७७

भैरहवा, २७ भदौ । 
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा प्राविधिक जनशक्तिको अभावले उपकरण जडानको काम अघि बढ्न सकेको छैन । राष्ट्रिय गौरवको यो आयोजनाको अवधि आगामी डिसेम्बरसम्म छ । यही सेप्टेम्बर अन्त्य वा अक्टुवर पहिलो सातासम्ममा प्राविधिक जनशक्ति आउने आशामा आयोजना रहेको छ । 

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विदेशबाट आउनुपर्ने सबै उपकरण लगभग आइसकेको छ । उपकरण जडानको लागि स्वदेशी दक्ष जनशक्ति नहुँदा विदेशबाट नआएसम्म सम्भव नहुने उनले बताए । अधिकारीका अनुसार विमानस्थलको आइसिपी ०१ को लागि चीनबाट र आइसिपी ०२ को लागि अमेरिका, अष्ट्रिया र थाइल्याण्डबाट प्राविधिक जनशक्ति ल्याउनुपर्छ ।  जनशक्ति ल्याउने विषयमा पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको र आयोजनाले लिखित रुपमै पर्यटन मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयमा अनुरोध गरिसकेको उनले बताए । 

‘जनशक्ति जति छिटो ल्याउन सकिन्छ, विमानस्थल त्यति छिटो सञ्चालन गर्न सकिन्छ, अहिले आयोजनाको ध्यान विदेशी प्राविधिक जनशक्ति ल्याउनेमा केन्द्रित छ’–अधिकारीले भने । उपकरण सबै जोडेर नसकेसम्म फिनिसिङको सबै काम सकिंदैन । 

‘जनशक्ति ल्याउने विषय नै अहिले आयोजनाको चुनौतीको विषय बनेको छ–उनले भने । ’ अहिले ल्याण्ड स्केपिङ, पेरिमिटर सडक, सेन्ट्रिपोष्ट निर्माण जस्ता काम भइरहको छ । आयोजनाले चीनबाट ३५ जना प्राविधिक इन्जिनियर माग गरेको छ । उनीहरुले धावनमार्गको लाइट र टर्मिनल भवन भित्रको उपकरण जोड्ने काम गर्नेछन् । त्यसबाहेक आवश्यकता अनुसारका जनशक्ति अमेरिका, अष्ट्रिया र थाइल्याण्डबाट आउनुपर्छ । 

‘प्राविधिक जनशक्तिले करिव तीन महिनाको समय मागेका छन् । सेप्टेम्बर अन्त्यसम्म प्राविधिक जनशक्ति आए डिसेम्बर अन्त्यसम्म विमानस्थल निर्माणको सबै काम पूरा हुन्छ’–आयोजना प्रमुख अधिकारीले भने । अहिले समग्रमा विमानस्थलको करिव ९३ प्रतिशत काम पूरा भएको पनि उनले जानकारी दिए । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सम्बन्धित देशले आफ्ना नागरिकलाई कोभिड–१९ का कारण बाहिर नपठाउने नीति लिएकाले प्राविधिक जनशक्ति आउन ढिलाई भएको बताए । ‘जनशक्ति कहिलेसम्म आइपुग्छ, अहिले नै भन्न सकिने अवस्था छैन, यही महिनाभित्र जनशक्ति आए डिसेम्बरसम्म विमानस्थल निर्माण सकेर आयोजनाले प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ’–पोखरेलले भने ।

विमानस्थल हस्तान्तरण भइसकेपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भए नभएको लगायतका अन्य मापदण्डबारे अध्ययन गर्न प्राधिकरणलाई तीन महिना लाग्छ । त्यसपछि प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) संग अनुमति लिएपछि विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य मानिनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ । 

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुनेछ । ७८७ बिघा क्षेत्रफलमा विमानस्थल निर्माण भइरहेको छ ।