
बिहिवार , पौष २२, २०७८
भैरहवा, २२ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबार भैरहवास्थित गणतान्त्रिक सभा हलमा हुन गइरहेको अधिवेशनले एमालेको नयाँ नेतृत्व समेत चयन गर्ने गरी जिल्लाभरी प्रतिनिधि छनौट समेत भएको पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख समेत रहेका अध्यक्ष सुवेदीले भने, ‘अधिवेशनको तयारी लगभग पुरा भइसकेको छ । नेतृत्व चयनको विषयमा बन्दसत्रमा प्रतिनिधिले छान्ने कुरा हो, धेरै साथीहरु नेतृत्वको लागि योग्य हुनुहुन्छ, योग्यहरु मध्येबाटै नेतृत्व छानिन्छ ।’
जिल्लाभरीबाट १ हजार १ सय ६ प्रतिनिधि अधिवेशनको लागि चयन भएका छन् । त्यसका अतिरिक्त एमालेका साविकका १७५ सदस्यीय जिल्ला कमिटीमध्ये हाल कायम १०८ जना पनि स्वतः प्रतिनिधिको रुपमा रहनेछन् ।
एक पद अध्यक्ष, एक पद उपाध्यक्ष, एक पद सचिव, र दुई पद उपसचिवसहित १५० सदस्यीय जिल्ला सदस्यको लागि रुपन्देहीमा धेरै जनाले नेतृत्वको लागि दावी गरिरहेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्न पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायत नेताहरु भैरहवा आउने कार्यक्रम तय भएको छ ।
अधिवेशनको मञ्च व्यवस्थापन उपसमिति संयोजक समेत रहेका एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले सिद्धार्थनगर नै एमालेमय भएको बताए ।
को को छन आकांक्षी ?
एमालेका वर्तमान अध्यक्ष शिवराज सुवेदी चितवन महाधिवेशनदेखि पार्टीको केन्द्रिय कमिटी सदस्य चयन भएपछि उनी स्वतः जिल्ला अध्यक्ष दोहोरिने छैनन् । उपाध्यक्षको जिम्मेवारीमा रहेको व्यक्तिले अध्यक्ष दावी गर्नु स्वभाविक भएको पुरुषोत्तम घिमिरे बताउँछन । उनी भन्छन, ‘उपाध्यक्ष भएको मान्छे म अध्यक्षमै उम्मेदवारी दिने तयारीमा छु ।’
सुवेदीलाई अध्यक्ष बनाउन पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठ लगायतले नेतृत्वसँग लविंग गरिरहेका छन् ।
सधैं भौगोलिक हिसाबले बुटवलले अध्यक्ष लिइरहेको भन्दै भौगोलिक हिसाबले पनि यसपटक भैरहवा क्षेत्रलाई अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग पनि उठेको छ । जिल्ला कार्यालय पनि भैरहवा रहेको हुँदा र आफु निरन्तर दशकौंदेखि पार्टीमा क्रियाशिल भएकोले जिल्ला अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको हितराज पन्थीले बताएका छन् । उनी भन्छन, ‘भैरहवा बसेकै कारण, भुगोलको कारण नेतृत्व नदिने सवाल हँुदैन । म मन मस्तिष्कदेखि तयारीमा छु । प्रतिनिधि साथिहरुले मलाई सघाउने पनि विश्वास गरेको छु । ’ पन्थी एमाले रुपन्देहीको जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ संयोजकको जिम्मेवारीमा छन् ।
त्यसै गरी तेजेन्द्र के.सी, यज्ञ गैरे, बासुदेव घिमिरे पनि अध्यक्षका दाबेदार रहेका छन् । के.सी र पन्थी एमाले नेता प्रदीप ज्ञवाली निकट मानिन्छन् । वर्तमान अध्यक्ष सुवेदी के.सी.लाई अध्यक्ष बनाउने मनस्थितिमा छन् । गैरेलाई अध्यक्ष बनाउने गरी एमालेका अर्का नेता छबिलाल विश्वकर्माले भूमिका खेलिरहेका छन् । घिमिरेलाई भने विष्णु पौडेलले सघाउने देखिन्छ ।
एक नेताका अनुसार चर्चा जे जस्तो भएता पनि अध्यक्षमा पुरुषोत्तम घिमिरे र तेजेन्द्र के.सी मध्ये एक जना, उपाध्यक्षमा जगेश्वरीदेवी चौधरी र सचिवमा हितराज पन्थी, उपसचिव दुईमध्ये एक जना गैरे र एकजना समावेशीतर्फ ल्याउने गरी छलफल पनि भईरहेको बताए ।
यस अघिको अधिवेशनमा नेतृत्वको रस्साकस्सीले अध्यक्ष चयन हुन नसक्दा ६ दिनसम्म अधिवेशन लम्बिएको थियो । अन्ततः धेरैदिनको रस्साकस्सीबीच शिवराज सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij