
शुक्रवार , पौष २३, २०७८
भैरहवा, २३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेलाई एक्ल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने दावी गरेका छन् । उनले पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताए ।
एमाले रुपन्देहीको ९ औं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै नेता पौडेलले भने, ‘एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ । उनले धेरै जनताले पत्याएको तथा धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताए ।
उनले भने, ’विचार, नीतिको हिसाबले यो देशको नेता एमाले हो । एमाले सर्वाधिक शक्तिशाली पार्टी भएको उनले बताए ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका नेता पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा एमाले रहेको बताए । पार्टीप्रति गर्व गरी अझ यसलाई शक्तिशाली र बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।
‘एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको छ, सबैप्रहार र षडयन्त्रलाई परास्त गरेका छौं, ’उनले भने ।
रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको बताए । उनले परिवर्तनको संवाहक शक्तिको रुपमा एमालेले आफूलाई स्थापित गरेको बताए ।
एमालेका सचिव, लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दावी गरे । उनले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिष्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पुंजीवादबाट बच्नु भएको बताए । उनले यसबाट बच्न सके क्रान्ति सफल हुने बताए ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वागत तथा सचिव जगेश्वरीदेवी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गुणाखर भुसालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij