२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

आउने निर्वाचनमा गठबन्धन हुँदैन : डा. शेखर कोइराला

शनिवार , पौष २४, २०७८

इनरुवा, २४ पुस ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् । 

नेता कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।”

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए । 

उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दावी गरे । नेता कोइरालाले भने, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनुपर्यो । देखिने गरी हुनुप¥र्यो, न्यायसंगत हुनुपर्यो ।” 

आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे । नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिए । रासस