२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव

शनिवार , पौष २४, २०७८

भैरहवा, २४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ । पार्टीको ९ औं जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीसहित १५० सदस्यीय जिल्ला समितिको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मण्डलले उपाध्यक्षमा जगेश्वरीदेवी चौधरी, सचिवमा यज्ञ गैरे र उपसचिवमा हितराज पन्थी र चित्रबहादुर कार्कीको नाम प्रस्ताव गरेको छ । तर अध्यक्षका आकांक्षी हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आफूलाई अमान्य भएको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्ष घिमिरे एमालेमा लामो समयदेखि माधव नेपाल पक्षमा थिए । संसद विघटनपछि नेकपामा भएको विवादमा पनि घिमिरे माधव नेपाल–प्रचण्ड पक्षमा थिए । अध्यक्ष प्रस्तावित केसी एमाले र माओवादी एकीकरण भएपछि जिल्ला सह–संयोजक बनेका थिए ।  घिमिरेले उम्मेदवारी फिर्ता नलिएमा आइतबार चुनाव हुने एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

एमाले जिल्ला अधिवेशनका लागि १ हजार १ सय ६ जना प्रतिनिधि छन् । १५० सदस्यीय जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जना पदाधिकारी रहने व्यवस्था छ ।