
आइतवार , पौष २५, २०७८
भैरहवा, २५ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीको अध्यक्षमा तेजेन्द्र के.सी. सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न ९ औं जिल्ला अधिवेशनबाट के.सी. अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार तथा निवर्तमान जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि के.सी. निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबार अध्यक्ष मण्डलले केसीलाई अध्यक्ष प्रस्ताव गरेपछि घिमिरेले आफूलाई मान्य नहुने भन्दै उम्मेदवारी दिएका थिए ।
त्यस्तै एमाले रुपन्देहीको उपाध्यक्षमा जगेश्वरी देवी चौधरी सर्वसम्मत निर्वाचित भएकी छन् । तिलोत्तमा नगरपालिका उपप्रमुख समेत रहेकी चौधरी यस अघि पार्टी रुपन्देही सचिवको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
त्यस्तै सचिवमा यज्ञ गैरे निर्वाचित भएका छन् । सचिव पदमा यज्ञ गैरे र खेम लुइटेलको उम्मेदवारी परेको थियोे । लुइटेलले उम्मेदवारी फिर्ता लिएपछि सचिव पदमा गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
उपसचिवमा चित्र बहादुर कार्की र हितराज पन्थी निर्वाचित भएका छन् । कार्की सैनामैना नगरपालिकाका प्रमुख हुन् भने पन्थी यसअघि रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सदस्य पदमा भने सहमति जुटाउने प्रयास जारी भइरहेको एमाले नेता चोपलाल आचार्यले बताए ।
अध्यक्षमा निर्वाचित भएका नेता के.सी.ले रुपन्देहीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको बताए । उनले रुपन्देहीको कम्युनिष्ट आन्दोलनलाई अझै विकसित ढंगले अगाडी बढाउने बताए ।
त्यस्तै निवर्तमान उपाध्यक्ष घिमिरेले आफू उपाध्यक्ष भएर काम गरिसकेकाले अध्यक्ष हुनुपर्ने दावी गरेको बताए । उनले भने, ‘पार्टीभित्र भएका आन्तरिक कमीकमजोरीलाई सुर्धादै पार्टीलाई अझ शसक्त रुपमा अगाडी बढाउन उम्मेदवारी फिर्ता लिएँ ।’
एमाले रुपन्देहीमा ६ कार्यकाल विभिन्न जिम्मेवारीमा रहेर काम गरी पछिल्लो समय पार्टीभित्र विवाद हुँदा के.सी. जिल्ला सह–संयोजक भएर काम गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij