२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

“शब्दभन्दा गहीरो एक मौन सम्बन्ध - साथी ईश्वरी”

सोमवार , बैशाख १, २०८२

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • सम्बन्धहरू कति प्रकारका हुन्छन्  कोही रगतको नाताले जोडिन्छन्,

    कोही समयले बाँधिन्छन्,

    र केही सम्बन्ध यस्ता हुन्छन्,

    जसको जरा आत्मामा गाडिएको हुन्छ।

    त्यही आत्माको सम्बन्ध थियो  मेरो र ईश्वरीको।

     

    संसारले हामीलाई साथी भन्यो,

    कसैले ‘दुई भाइ भन्यो,

    तर हाम्रो सम्बन्ध कुनै नाममा अटेन।

    हामी त एउटै स्पन्दन थियौं  एउटै धड्कनका दुई भाग।

     

    शुक्रबार बिदा भै घर जाँदापनि रात एउटै छानामुनि बित्थ्यो।

    कहिले मेरो घर,

    कहिले तिम्रो।

    लाज, शंका, टाढापन भन्ने कुनै कुरा थिएन।

    एकअर्काको आमालाई आमा भनेका थियौं,

    भाइलाई आफ्नै भाइ जस्तै माया गर्थ्यौं।

    त्यसैले त,

    तिमी मेरो जीवनको केवल साथी होइनौ

    तिमी मेरो परिवार थियौ,

    मेरै अस्तित्व थियौ।

     

    तिम्रो हासोमा जीवन थियो,

    तिम्रो बोलीमा भरोसा,

    तिमी जस्तै सरल, साँचो र समर्पित मान्छे मैले जीवनमा दोस्रो पाइन।

    तिमी एक असल राष्ट्रसेवक थियौ

    तर त्यो भन्दा पनि अगाडि, तिमी एक असल मानव थियौ।

     

    हामी एउटै रंगका लुगामा रमाउने,

    एउटै कोठामा सुत्ने,

    र एउटै सपना देख्ने थियौं  आफ्नो जीवन, आफ्नो परिवार, आफ्नो देशप्रतिको समर्पण।

    जागिरको दिनहरुमा हाम्रो सानो कोठामा तीन ओटा बेड भए पनि

    हामी सधैँ एउटै बेडमा सुत्थ्यौं  जुन कोठामा साथी शोबलाल अनि एउटा बेड खाली नै हुन्थ्यो।

     

    हामीबीच त्यस्तो विश्वास थियो, जुन आम जीवनमा दुर्लभ हुन्छ।

    सामाजिक सञ्जालको पासवर्डदेखि, घरको हिसाब-किताबसम्म

    हामीले साझा गरेका थियौं।

    कति औं पटक तिम्रा जवाफ मैले कसैलाई फर्काए कति पटक तिमिले नै, जुन सामाजिक सञ्जाल होस् वा प्रत्यक्ष  ।

    जुन कुराहरु आफन्त या पत्नीसमेतसँग भन्न गाह्रो हुन्थ्यो,

    त्यो पनि हामी एकअर्कासँग खुलेर बोल्थ्यौं।

    हामी खुल्ला पुस्तक थियौं  एउटाले अर्कोलाई पढ्न सक्ने।

     

    २०७८ साल वैशाख १ गते

    जब म म बुद्दनगर काठमाण्डौमा ठेलामा मेवा किन्दै थिए

    स्वर्गद्वारी जाने क्रममा जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी दुर्घटनामा पर्‍यो,

    र मेरो ज्यानभन्दा प्यारो मित्र,  मेरो अभिन्न हिस्सा

    ईश्वरीले हामीलाई सधैंका लागि छोडेर गएको खबर आयो।

     

    त्यो खबरले, मेरो सासै थमियो, हृदय च्यातियो ।

    विश्वास गर्नै सकिनँ …………

     

    तिमी गयौ!

    स्वर्गद्वारीको यात्रामा, धर्मको बाटोमा,

    तिमी सधैँका लागि अदृश्य भयौ।

     

    त्यस दिन बिहान यात्राकै क्रममा तिमी सँग नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै कुरा भएको थियो ।

    के थाहा, त्यो अन्तिम संवाद हुनेछ भनेर?

    त्यो दिन देखिको पात्रोमा मेरो लागि बैशाख १ मेटियो ।

     

    तिमी गयौ,

    र तिमीले छोड्यौ ९ महिनाकी छोरी,

    अझै “बुवा” भन्न नपुगेकी,

    काखमा राम्ररी खेल्न नपाएकी,

    र त्यो निर्दोष सानी आँखा  जसले आज पनि तिमीलाई खोजिरहेकी छ।

     

    प्रिय ईश्वरी,

    तिम्रो छोरीको भविष्य मेरो पनि त जिम्मा हो।

    तिम्रो मृत्यु पछि प्राप्त भएको रकमबाट केही भाग तिनै अबोध नानीको नाममा सुरक्षित गर्न

    मैले कति अनुरोध गरेँ,

    के के सुने, सम्झना आउँछ,

    जुन तिमिलाई भन्न सक्दिन,

    जसले मलाई झन् पटक पटक रुवायो ।

    तर पिर नगर्नु तिम्रो छोरी मेरो पनि त छोरी हुन्,

    मैले राम्ररी बुझेको छु ।

     

    म कहिले काँही तिम्रो बुवा आमा तथा भाउजु सुजातालाई फोन गर्न खोज्छु,

    तर हिम्मत जुट्दैन र पनि समय-समयमा फोन नगरि बस्न सक्दिन।

    किनकि तिमी बिना आमा अनि भाउजु सुजाताको जीवन पनि सुनसान भएको छ।

    म बोलुँ भने पनि, मेरो आवाजमै आँसु मिसिन्छ

    र उहाँहरुको चोट झन गहिरो नहोस् भनेर म मौन रहन्छु।

     

    तिम्रो भाइ दिनेशले आफ्नो बिहेको मिति तोकेपछि…………….

    तिम्रै परिवारको अनुरोधमा,

    तिमीलाई पनि विवाह गर्न मनाउन मैले कति प्रयास गरेँ,

    लाग्छ  तिम्रो बाध्यता म बाहेक कसैले बुझेको छैन आजसम्म पनि।

    आज सम्झँदा मन झन् भक्कानिन्छ

    खै त्यो समय सहि थियो वा गलत?

    थाहा छैन, तर मनको गहिराइबाट क्षमा चाहन्छु।

     

    हामीले बनाएको सम्बन्ध केवल सामाजिक थिएन

    त्यो सम्बन्ध आत्मीय थियो।

    तिमी आज छैनौ, तर तिमी आज पनि मसँग छौ ।

    तिमी मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक निद्रामा समाहित छौ।

     

    तिमी गयौ,

    तर तिमीले छोडेका हाँसो,

    तिमीले बाँडेका सपना,

    तिम्रो माया

    आज पनि बाँचेका छन्।

     

    तिमीले हामीलाई अधुरो बनाएर गयौ,

    तर म तिमीलाई पूर्ण सम्झनामा राखेर बाँची रहेको छु।

     

    हामी फेरि भेट्नेछौं  त्यो परलोकको एउटा उज्यालो छेउमा।

    जहाँ न आँसु हुनेछ, न दुःख

    जहाँ हामी फेरि एउटै कोठामा,

    एउटै हाँसोमा,

     एउटै आत्मीयतामा रमाउनेछौं।

     

    तर आज

    आज यो संसारमा तिमीलाई भुल्न म सक्दिन।

    तिमी सधैँका लागि अमर रह्यौ

    मेरो जीवनमा,

    मेरा शब्दमा,

    मेरो हृदयको गहिराइमा।

     

    ईश्वरी तिमी मेरो जीवनको त्यो पाना हौ जुन कहिल्यै बन्द हुदैन ।

    तिमी मेरो मनको त्यो स्वर हौ जुन कहिल्यै मौन हुन्न ।

    तिमी मेरो त्यो आशु हौ जुन पिडादायी भएर पनि पवित्र छ ।

    संसार भन्छ मृत्यू अन्त्य हो तर तिमि त मेरो आत्मा छौ

    जसलाई कुनै मृत्युले लान सक्दैन ।

     

    ईश्वरी, पक्कै तिमी स्वर्गमा छौ

    तर तिमी मेरो आत्मामा सदैव बाँचिरहने छौ।

            हार्दिक श्रद्धाञ्‍जली साथी

    (लेखकः- द्रोण प्रसाद घिमिरे, धुर्कोट-७, गुल्मी, हाल- काठमाण्डौ)