आइतवार , कार्तिक १५, २०८३
भैरहवा, १५ कार्तिक । रुपन्देहीको भैरहवा निवासी रामप्रसाद सापकोटाले आफ्नो ५२ औं जन्मोत्सव (जन्मदिन)को अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गर्नुभएको छ । उहाँले आइतबार आफ्नो जन्मोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नुभएको हो ।
सापकोटाले विगत तीन वर्षदेखि जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आउनुभएको छ । रगतको अभाव हुन नदिन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । ‘पहिलोपटक पोखरामा जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थिएँ । दुई वर्षदेखि भैरहवामा आयोजना गर्दै आएको छु । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनेछु,’ उहाँले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देही रक्तसञ्चार सेवा इकाइ भैरहवा (युसीयमयस) को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको सापकोटाले जानकारी दिनुभयो ।
हिमाली सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर–७, ८ र ९ (सामुदायिक प्रहरी) का अध्यक्ष सुरेन्द्रजंग थापाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर-७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर–८ का कार्यवाहक वडाध्यक्ष हरिप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय, उपसभापति रुपमा कुमारी हिराचन, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, तिलक ज्ञवालीलगायतको उपस्थिति थियो । हिमाली सामूदायिक सेवा केन्द्रका सचिव खगेन्द्र शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले रगतको व्यवस्थापन गर्ने जिम्मेवारी रेडक्रसको रहेको बताउनुभयो । समाजका अगुवा, सामाजिक अभियन्ता, संघ–संस्था तथा आम नागरिकको साथ र सहयोगमा जिल्लामा रगतको सहज व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो । चाडपर्वका समयमा हुन सक्ने रगतको अभाव हुन नदिन गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने उहाँको भनाइ थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
