आइतवार , कार्तिक १५, २०८३
भैरहवा, १५ कार्तिक । हिन्दू स्वयंसेवक संघ, नेपालको आयोजनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित पशुपति शिक्षा मन्दिरमा नमूना संसदीय अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा संसदीय प्रक्रिया, लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा राजनीतिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका ६५ जना विद्यार्थी सहभागी भएका थिए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्ष तथा नेशनल ल कलेजमा कानून अध्ययनरत संजोग न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता हिन्दू स्वयंसेवक संघ नेपालका पंकज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै रुपन्देही नागरिक समाजका अध्यक्ष अमित कुमार गुप्ता, समाजसेवी नारायण प्रसाद भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमले विद्यार्थीहरूलाई संसदीय अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै नेतृत्व क्षमता, तार्किक सोच, सार्वजनिक वक्तृत्वकला र जिम्मेवार नागरिक बन्ने प्रेरणा दिएको आयोजकले जनाएका छन् । युवा पुस्तामा लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र सामाजिक उत्तरदायित्वप्रतिको समझ विकास गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
