सोमवार , कार्तिक २४, २०८२
रुपन्देही, २४ कार्तिक । रुपन्देहीमा साढे तीन अर्ब लगानीमा पाँचतारे होटल हायात प्यालेस सञ्चालन भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमै निर्माणसम्पन्न हायात प्यालेस सञ्चालनमा आएको छ ।
वरिष्ठ उद्योगी तथा होटल सञ्चालक समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार यसम ग्लोबल आइएमई बैंकले ६५ प्रतिशत लगानी गरेको छ । शनिबार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत् पूजा–अर्चना गरी होटल सञ्चालनको शुभ साइत गरिएको हो । यससँगै होटल सभा–सम्मेलन, बैंक्वेट र विभिन्न सामाजिक कार्यक्रमका लागि पनि खुला गरिएको छ । सञ्चालकका अनुसार हायात प्यालेस बुटवलको ग्राण्ड ओपनिङ नोभेम्बर २४ तारिखमा आयोजना गर्ने तयारी छ ।
यो होटल बुटवलकै पहिलो र रुपन्देही जिल्लाको पाँचौ पाँचतारे होटल हो । यसअघि भैरहवा, तिलोत्तमा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा आइसकेका थिए । तर, बुटवलमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्राण्डको होटल सञ्चालनमा आउनुले यहाँको पर्यटन र व्यवसायिक क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको सञ्चालकहरूको भनाइ छ ।
सफ्रोन सिके प्रा.लि.मार्फत निर्माण गरिएको होटलको व्यवस्थापन प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल चेन हायात समूहले लिएको हो । नेपालमा काठमाडौंपछि राजधानीबाहिर पहिलोपटक हायात प्यालेस ब्राण्डको होटल बुटवलमा सञ्चालनमा आएको हो ।
होटलमा रुपन्देहीका उद्योगी–व्यवसायीहरू चुन्नु प्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ । यही समूहले करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रा.लि. र बुटवल हस्पिटल प्रा.लि. पनि सञ्चालन गर्दै आएको छ ।
सफ्रोन सिके प्रा.लि.का अध्यक्ष चुन्नुप्रसाद पौडेलका अनुसार करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । होटल जमिनमुनि दुईतला पार्किङ र जमिनमाथि १० तला रहेको आधुनिक संरचना हो । कुल ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जहाँ एकै पटक २५० जना पाहुनालाई उच्चस्तरीय सेवा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार होटलमा आधुनिक रेष्टुरेन्ट, स्विमिङ पुल, ब्यांकवेट हल, ४ वटा सेमिनार हल, स्पा, क्यासिनो जस्ता सुविधा छन् । करिब ३६ हजार स्क्वायरफुट क्षेत्रमा फैलिएको क्यासिनो निर्माण अन्तिम चरणमा पुगेको छ ।
होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने अध्यक्ष पौडेलले बताउनुभयो । पौडेलका अनुसार यो होटल केवल बसाइको गन्तव्य मात्र नभइ सम्मेलन, सेमिनार र विवाह समारोहदेखि व्यापारिक मेला सञ्चालनसम्मका लागि एउटा पूर्ण गन्तव्य हो ।
कोभिडअघि २०७७ सालमा होटल निर्माण सुरु गरिएको थियो । सुरुवाती योजना अनुसार २०७९ सालभित्रै सञ्चालन गर्ने तयारी थियो । तर, कोभिड–१९ महामारी र त्यसपछि सुस्त बनेको अर्थतन्त्रका कारण निर्माणमा ढिलाइ भयो र लगानी पनि त्यसै गरी थपियो ।
सञ्चालकका अनुसार राजधानी काठमाडौं बाहिर हायात प्यालेस बुटवललाई उत्कृष्ट होटलका रूपमा हेरिएको छ । अध्यक्ष पौडेलले बजारमा यो होटलमा केही नेताको लगानी भएको हल्ला चलाउन थालिएको भन्दै यसमा दुई परिवार र बैंकबाहेक कसैको लगानी नभएको स्पष्ट पार्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij