सोमवार , फाल्गुण ११, २०८२
काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार आयोगले दल र उम्मेदवारहरूलाई प्रदान गरेको निर्वाचन चिन्ह प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाइने भएपनि त्यसको ठोस भौतिक वस्तु नै तयार गरी बोकेर हिँड्न नपाइने निर्णय गरेको हो ।
आयोगले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने स्पष्ट पारेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने आयोगले जनाएको छ ।
सूचना अधिकारी घिमिरेले निर्वाचन चिन्हलाई भौतिक स्वरूपमै प्रयोग गर्दा समाजको शान्ति सुव्यवस्था तथा सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने गुनासो आयोगमा आएको र उजुरीहरूको अध्ययनपछि आयोगले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले राजनितिक दल तथा उम्मेद्वारहरुलाई प्रचारप्रसारका क्रममा निर्वाचन चिन्ह कागज, फ्लेक्स वा अन्य सामग्रीमा सांकेतिक रूपमा मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । तोकिएभन्दा फरक ढंगले भौतिक स्वरूपमै चिन्ह बोकेर प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर हुने उहाँको भनाई छ । उहाँले तोकिए बमोजिम दलको झण्डा र निर्वाचन चिन्ह मात्र प्रयोग गरी शान्तिपूर्ण र व्यवस्थित वातावरणमा प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले राजनितिक दल र उम्मेद्वारहरुको लागि निर्वाचन चिन्ह प्रदान गरेको हुन्छ । निर्वाचन चिन्हलाई लिएर कुनै पनि राजनितिक दल अथवा उम्मेद्वारहरुले आफ्नो प्रचारप्रसार कार्य सञ्चालन गर्न पाईन्छ । तर भौतिक रुपमा नै एउटा ठोस वस्तु नै निर्वाचन चिन्हको रुपमा लिएर प्रचारप्रसार गर्दाखेरी समाजको शान्ति सुव्यवस्थामा प्रतिकुल असर पर्ने र सुरक्षा व्यवस्थामा समेत असर पर्ने कुराको गुनासो गर्दै निर्वाचन आयोगमा केही उजुरीहरु पर्न आएका छन् ।
ती उजुरीहरुलाई अध्ययन गरेर आयोगले कुनैपनि राजनितिक दल अथवा उम्मेद्वारहरुले आफूले प्रचारप्रसार गर्दाखेरी तोकिएको निर्वाचन चिन्हको स्वरुप ठोस वस्तु नै अथवा त्यसको भौतिक स्वरुपमा नै बोकेर त्यसलाई लिएर हिँड्न पाइँदैन, यो कार्य निर्वाचन आचारसंहिता विपरित हुन्छ भन्ने आयोग निर्णय गरेर सबै राजनितिक दलहरु र उम्मेद्वारहरुलाई निर्वाचनको प्रचारप्रसार गर्दाखेरी आफ्नो निर्वाचन चिन्हको भौतिक स्वरुप नलिईकन त्यसको सांकेतिक रुपमा मात्रै कागजमा, फ्लेक्समा अथवा अन्य कुनै प्रकारले सांकेतिक रुपमा मात्रै त्यसको प्रयोग गर्न अनुरोध गरेको छ ।
सोही बमोजिम सबैले आफ्नो प्रचारप्रसार गर्दाखेरी समाजको शान्ति सुव्यवस्था र निर्वाचन प्रचारप्रसारको उपयुक्त वातावरण तयार गरिदिन हामी अनुरोध गदर्छौँ । राजनितिक दल तथा उम्मेद्वारहरुले तोकिए बमोजिमको दलको झण्डा र निर्वाचन चिन्हहरु लिएर मात्र प्रचारप्रसार गर्नुपर्छ । यो भन्दा विपरित भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर हुनेछ ।’
निर्वाचनमा प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सर्मथकहरुले चुनाव चिन्ह रहेको घण्टी बजाउँदै हिँडेपछि आयोगमा उजुरी परेको थियो । घण्टी बजाउँदा ध्वनी प्रदुषण भएको गुनासो बढेपछि आयोगले निर्वाचन चिन्हको भौतिक स्वरुप बोक्न नपाउने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij