२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा

मंगलवार , फाल्गुण १२, २०८२

  • 514
    Shares
  • 514
    Shares
  • काठमाडौं, १२ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ ।

    महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमवार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् । 

    साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनु भयो । 

    दाहालले भन्नुभयो, ‘राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’

    पछिल्लो सात सातादेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाको उपचार प्रक्रियाको गाम्भीर्यतालाई बुझ्दै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय लिएको जनाएको छ ।

    केएमसीले आफूसँग उत्कृष्ट र अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति रहेको भन्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सक्षम रहेको दाबी समेत गरेको छ ।