२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

महिलाले चुनाव जित्दैनन भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदियो : अध्यक्ष पराजुली

आइतवार , फाल्गुण २४, २०८२

  • 679
    Shares
  • 679
    Shares
  • काठमाडौं, २४ फागुन । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले हालै भएको निर्वाचनमा उल्लेख्य संख्यामा महिलाहरू प्रत्यक्ष निर्वाचित भएर आएकोले यसले समाज र राजनीतिमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ । 

    ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले महिलाले चुनाव जित्दैनन् भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदिएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सामान्य तथा सार्वजनिक जीवनमा धेरै पहिचान नबनाएका महिलाहरूले ‘हेभीवेट’ भनिएका पुरुष उम्मेदवारलाई पराजित गरेको बताउनु भयो ।

    अध्यक्ष पराजुलीकाअनुसार राजनीतिक दलहरूले लामो समयदेखि महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् र उनीहरूमा नेतृत्व क्षमता छैन भन्ने धारणा राख्दै आएका थिए । तर निर्वाचन परिणामले ती धारणालाई चुनौती दिएको उहाँले बताउनु भयो । यसले महिलाहरूलाई अवसर दिएमा उनीहरू अगाडि आउन सक्छन् भन्नेकुरा कुरालाई प्रमाणित गरेको उहाँले बताउनु भयो ।

    अध्यक्ष पराजुलीले निर्वाचन अभियानका क्रममा सुशासन, विकास र परिवर्तनका विषयमा व्यापक चर्चा भएपनि राजनीतिक दलका घोषणापत्रहरूमा लैङ्गिक समानता, महिला अधिकार, लैङ्गिक न्याय, महिला सशक्तिकरण तथा महिलाको पहुँचका विषय भने समेटिन नसकेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार देश निर्माण र परिवर्तनको बहस चलिरहँदा महिलासम्बन्धी मुद्दा नउठाइनु गम्भीर विषय हो । 
    उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचनमा धेरै महिलाहरु प्रत्यक्ष निर्वाचित भएर आउनुभएको छ । यसले एउटा सकरात्मक सन्देश दिएको छ कि राजनितिक पार्टीहरुले महिलाहरु चुनाव लड्न सक्दैनन्, महिलाहरु चुनाव जित्न सक्दैनन्, महिलाहरुसँग त्यो क्षमता छैन भन्ने कुरालाई पनि चुनौती दिएको छ । सामान्य, सार्वजानिक जीवनमा पहिचान नबनाउनुभएको महिलाहरुले पनि हेभी ह्वेट भनिएको पुरुषहरुलाई परास्त गरेर निर्वाचित हुनुभएको छ ।

    महिलाहरुले अवसर पाउनुभयो भने महिलाहरु अगाडी आउनुहुन्छ भन्ने पनि यसले सावित गरेको छ । तर यो सँगसँगै यति धेरै सुशासनको कुरा उठ्यो, यति धेरै देश बनाउने कुरा उठ्यो, यति धेरै परिवर्तनको कुरा उठ्यो तर कहीँ कसैको घोषणापत्रमा लैङ्गिक समानताको कुरा, महिला अधिकारको कुरा, लैङ्गिक न्यायको कुरा, महिला सशक्तिकरणको कुरा, महिला पहुँचको कुरा कहीँ कसैले उठाउनुभएन ।’ 

    अध्यक्ष पराजुलीले आगामी दिनमा राजनीतिक दलहरूले नीति तथा कार्यक्रम बनाउँदा लैङ्गिक समानता र महिला अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।