
बिहिवार , भाद्र ४, २०७७
काठमाडौँ, ४ भदौ ।
सरकारले गरेका पछिल्ला केही नियुक्तिले सत्तारुढ दल नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको काम समेत प्रभावित भएको छ । दुई अध्यक्षबीच नियुक्तिलाई लिएर भएको मतभेदले कार्यदलको काम प्रभावित भएको हो । यद्यपि कार्यदलले आफ्नो तर्फबाट सहमतिको प्रारम्भिक खाका बनाउने गृहकार्य जारी राखेको छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका अध्यक्ष पुष्पकमल दाहालले पनि कार्यदलले काम गरिरहेका बेला सरकारले गरेका नियुक्तिले कार्यदलको काम प्रभावित हुनसक्ने बताएका थिए । मंगलबार र बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेका अध्यक्ष दाहालले कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाए ।
दाहालसँगको भेटलगत्तै विवाद फराकिलो हुने संकेत पाएका प्रधानमन्त्री ओलीले कार्यदल सदस्यहरुसँग छलफल गरेका थिए । बिहीबार बिहान केही समय पछाडि सारिएको कार्यदल बैठक दिउँसो भनेर बालुवाटारमै बसेको थियो । यद्यपि कार्यदल सदस्यहरुले दुवै अध्यक्ष ओली र दाहालबाहेक वरिष्ठ नेता माधवकुमार नेपालसँगसमेत नियमित परामर्श गरेर सहमतिको खाका बनाउने कोसिस गरेका छन् । कार्यदलका एक सदस्यले छिट्टै नै सहमतिमै प्रस्ताव तयार पार्ने दावी गरे ।
बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर दाहालले पछिल्ला नियुक्ति सच्याउन माग गरेका छन् । नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुनसक्ने चेतावनी दिएर पनि दाहालले यसले निम्ताएको तरंगको संकेत गरेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएका छन् ।
ओली र दाहालकै सहमतिमा शुक्रबार गठित कार्यदलले शनिबारबाटै काम थालेको थियो । तर, सोमबारको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय लिएको थियो । यिनै नियुक्तिमा दाहाल र अन्य वरिष्ठ नेताहरुले असन्तुष्टि जनाएका हुन् । यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।
दाहालले कार्यदल गठनपछि मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरु पनि भएको आंशका गरेका छन् । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नियुक्तिपछि बुधबार दाहाललाई भेटेर खारेजीका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्न सुझाव दिएका थिए । त्यसैअनुसार दाहाल बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए ।
सोमबार मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेकपाको सचिवालयले कार्यदललाई अनुमोदन गरेको थियो । ओली र दाहालले कार्यदल बनाएपछि खनाल, नेपाल र प्रवक्ता श्रेष्ठको असन्तुष्टि थियो । कमिटी छलेर कार्यदल बनाएपछि अनुमोदन गर्नुको कुनै अर्थ नरहेको भन्दै सोमबार सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले पनि असन्तुष्टि पोखेका थिए । कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमतिपछि बैठकबाट कार्यदल अनुमोदन भएको थियो ।
सचिवालय बैठकबाट कार्यदल अनुमोदनपछि उत्साही सदस्यहरुले आफ्नो गृहकार्य अगाडि बढाउन खोजेका थिए । तर, त्यसैदिन मन्त्रिपरिषद्को निर्णयले कार्यदलभित्र पनि आंशका पैदा गरेको थियो । एक सदस्यका अनुसार विवाद समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका बेला नेकपाका दुई अध्यक्षबीच केही नियुक्तिलाई लिएर विवाद देखिएपछि कार्यदलको बैठकमासमेत असर परेको छ ।
शुक्रबार गठन भएको कार्यदलको शनिबार पहिलो बैठक बसेको थियो । आइतबार दोस्रो बैठक बसेको कार्यदलको तेस्रो बैठक भने मंगलबार र चौथो बैठक बिहीबार बस्यो । सोमबार र बुधबार कार्यदलको बैठक बसेन । बिहीबार पनि बिहान आठ बजे बोलाइएको बैठक दिउँसोसम्म स्थगित भएको थियो ।
दाहालले बुधबार एक टीभीलाई दिएको अन्तर्वार्तामा कार्यदलले काम गरिरहेको र एक सातामा केही नतिजा आउने बताएका थिए । यद्यपि ओलीले असार २८ मै पाँच दिनभित्र विवाद समाधान हुने दावी गरेका थिए ।
नेकपामा गत असार १० गते सुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँड र सरकार–पार्टीबीचको समन्वयको विषयबारे विवाद छ । सहमति खोज्ने शीर्ष नेतृत्वको डेढ महिना लामो कोसिस असफल भएपछि महासचिव विष्णु पौडेलेको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।
कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाँट, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार मन्त्रिपरिषद् पुनर्गठन, केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन, सरकारका काम प्रभावकारी बनाउन संयन्त्र गठन, महाधिवेशनको कार्ययोजनलगायतका विषयमा मस्यौदा बनाउने छ ।
पार्टी सञ्चालनसम्बन्धी बाँकी काम र अहिलेसम्म भएका कमी–कमजोरीको आत्मालोचनासम्मको मस्यौदा बनाउने कार्यदल सदस्यहरुको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij