images

शनिवार, बैशाख २२ गते २०८१

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छः प्रम देउवा

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छः प्रम देउवा

images
images
images
बुधवार, कार्तिक १० २०७८
बुधवार, कार्तिक १० २०७८
  • अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छः प्रम देउवा

    काठमाडौँ, १० कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।

    images
    images
    images

    “केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।

    प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताए । उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

    सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुढृढ र सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “कांग्रेसको महत्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्छ,” उनले भने ।

    गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पारे । कांग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भएमात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताए ।

    कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरु लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरु एकजुट हुन आग्रह गरे । युवाहरु देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

    तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताए । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिकाविरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताए ।

    कार्यक्रममा गृहमन्त्री खाँण र खानेपानी तथा सरसफाइमन्त्री चौधरीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै दलका पूर्वाध्यक्ष यादव, विनोदप्रकाश कायस्थ, उदयशमशेर राणालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तरुण दलको गीत रचना गर्नुभएका सञ्चारकर्मी एवम् साहित्यकार डा नवराज लम्साललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

    कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij