
बुधवार , कार्तिक २४, २०७८
काठमाडौँ, २४ भाद्र। नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन्।
गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका हुन्।
“सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, नेता सिंहले भने। उनले कांग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गरे। नेता सिंहले दुई/दुईपटक विघटन भएको संसद् अदालतले पुनस्र्थापना गरिदिएको भन्दै ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको स्पष्ट पारे । पाँच दलीय गठबन्धन समन्वय समिति आवश्यक नभएको बताउँदै उनले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको बताए । कांग्रेसले १४औँ महाधिवेशनबाट पार्टीलाई विधिसम्मत नेतृत्व गर्ने सक्षम उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो ।
नेता सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व सिंहले नेपाली राजनीतिमा ६ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशमा प्रजातन्त्र स्थापनाका लागि स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्दै सङ्घीयता, लोकतन्त्र र समावेशितालाई संस्थागत गर्दै अगाडि बढाउने मुख्य जिम्मा कांग्रेसको भएको बताए। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij