२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

एमाले महाधिवेशन : जनवर्गीय संगठनबाट एकलाख सहभागि हुने

बुधवार , कार्तिक २४, २०७८

काठमाडौं, २४ कात्तिक ।
नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय संगठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागिता हुने भएको छ । 

एमालेको २२ वटा जनवर्गीय संगठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसंगठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने भएको छ । एमालेले चितवनको नारायणी नदी किनारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घटन समारोह गर्ने भएको छ । 

यस्तै एमालेले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको उद्घाटनको दिन सहभागी गराउने भएको छ । एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा, धादिङ्, गोरखा लगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने तयारी गरेको हो । उनका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँक्रीसहित सहभागी हुनेछन् । 

यस्तै महाधिवेशनका लागि ३०० स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिन समेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताए । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो । 

बुटवल–नारायणगढ सडकखण्ड मर्मत गरिने

एमालेले चितवनमा हुने महाधिवेशनलाई ध्यानमा राखेर बुटवल–नारायणगढ सडक खण्डको मर्मत गर्न सडक विभागलाई अनुरोध गरेको छ । महाधिवेशनमा आउने प्रतिनिधिलाई सहज गराउनका लागि सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र डाइभर्सनलाई व्यवस्थित गर्नेबारे सडक विभागसँग छलफल भइरहेको एमालेका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले जानकारी दिए । उनका अनुसार वुटबलबाट महाधिवेशनस्थलमा गाडीबाट साढे दुईदेखि तीन घण्टामा पुग्ने गरी सडक मर्मत गरिनेछ । पुनःनिर्माण भइरहेको उक्त सडक खण्डमा अहिले ठाउँठाउँमा खाल्डाखुल्डी र ग्राबेल रहेको छ ।

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५/१५ जना गरी कूल २५५ जना निर्वाचित हुनेछन् । पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुनेछन् । रासस