२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न लागिपर्नेछु : प्रदिप उदय

मंगलवार , कार्तिक ३०, २०७८

भैरहवा, ३० कात्तिक ।
राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष प्रदिप कुमार उदयले राप्रपालाई लुम्बिनी प्रदेशमा अग्रणी, राष्टवादी, प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न लागिपर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि खबरपात्रोसंग कुराकानी गर्दै उनले राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न आफ्नो हरेक दिनको कार्य हुने बताए । 

उनले भने, ‘जसरी लुम्बिनी प्रदेशमा राप्रपाको गतिविधिहरु अगाडी बढायौं, त्यसलाई निरन्तरता दिदै आगामी दिनमा स्थानीय, प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै यो प्रदेशमा पार्टीलाई अग्रणी शक्तिको रुपमा बनाउन मेरो पहिलो प्राथमिकता, दायित्व र कार्य हुनेछ ।’
उनले आफूले मतदान गरी अध्यक्ष पदमा निर्वाचित गराउने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरे । नेता उदयले भने, ‘सर्वप्रथम मेरो राजनीतिक गुरु दीपक बोहरा र पार्टीका नेता निरञ्जन थापाप्रति आभार व्यक्त गर्दछु ।’

राप्रपा लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट प्रदीप कुमार उदय अध्यक्षमा निर्वाचित भएका छन् । अन्य सबै पदमा सहमति जुटे पनि अध्यक्षमा सहमति जुट्न नसकेपछि सोमबार सम्पन्न निर्वाचनबाट उदय निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित रुपन्देही निवासी उदयले २५६ र उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्षका अर्का उम्मेदवार बाँके निवासी ऋषिराज देवकोटाले १९४ मत ल्याएका छन् । राप्रपा लुम्बिनी प्रदेशका प्रथम अधिवेशन आइतबारदेखि भैरहवामा सुरु भएको थियो ।