२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

शान्ति प्रक्रियालाई अगाडी बढाउन सरकारले संकल्प लिएको छ : गृहमन्त्री खांण

बुधवार , मंसिर १, २०७८

भैरहवा, १ मंसिर ।
गृहमन्त्री बालकृष्ण खांणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन् । उनले मुलुकलाई हिंसाको राजनीतिबाट मुक्त गर्न र शान्तिको मार्ग सबैका लागि प्रशस्त गर्दै वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडी बढाउन संकल्प लिएको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको १३ औं महाधिवेशनबाट निर्वाचित वडा, नगर, गाउँ, क्षेत्रीय समिति सभापति लगायतको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खांणले सरकारले विप्लव समूहसंग वार्ता प्रारम्भ गरेको बताए । उनले विप्लव समूहको राजनीतिक माग/मुद्दालाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागेको बताए ।

गृहमन्त्री खांणले नागरिकको जीवनलाई कसरी सहज बनाउने र उत्पादनलाई कसरी वृद्धि गर्ने भन्नेतर्फ सरकार लागेको बताए । उनले भारी वर्षाले किसानको खेतमा नोक्सान पुगेकाले शेरबहादुर नेतृत्वको सरकारले किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको बताए । मूल्यवृद्धिका कारण नागरिकमा उत्पन्न निराशालाई सन्तुलित बनाउनेतर्फ सरकारको ध्यान गएको उनको भनाइ थियो ।

‘नेपाली नागरिकलाई प्रहरी तथा प्रहरीले नेपाली नागरिकलाई सम्मान गर्नुपर्छ, प्रहरी जवानमा भर्ती भएका जवानहरु घर जाने बेला एक तह प्रमोशन भएर जानुहोस् भन्नेतर्फ सरकारको ध्यान गएको छ, ’उनले भने । सरकार, राज्य र सुरक्षा निकाय अभिन्न अंगको रुपमा रहेको उनले बताए । निजामति सेवालाई कसरी अझ वैज्ञानिक बनाउने, कर्मचारीलाई अझ बढी जिम्मेवार बनाएर नागरिकलाई सहज तरिकाले सेवाप्रभाव गर्नेतर्फ सरकार लागेको उनले बताए ।

‘नेपाली कांग्रेस नेपालको राष्ट्रियता बलियो बनाउन चाहन्छ, महाधिवेशनले नयाँ जिम्मेवारीबोध गराउनेछ, महाधिवेशनलाई सफल बनाउन हाम्रो जिम्मेवारी हो, मुलुककै लागि कांग्रेसको महाधिवेशन महत्वपूर्ण छ, ’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खांणले जितेकाले जित्न नसकेकालाई समेटेर लैजानुपर्नेमा जोड दिए । ‘कांग्रेस सरकारमा रहेको बेला पार्टी व्यवस्थापनमा केही समस्या देखिएका छन्, विगतमा सरकार र पार्टीलाई गतिशिल बनाउन सकिएको थिएन, ’कांग्रेसले कांग्रेसलाई हराउने बहादुरी देखिएको थियो, भने । एउटै व्यक्तिलाई प्रधानमन्त्री र पार्टीको सभापति बनाउनुपर्ने बताए । प्रधानमन्त्री र सभापति शेरबहादुर देउवालाई बनाउनुपर्ने उनको भनाइ थियो । ‘शेरबहादुर देउवाप्रति अन्य राजनीतिक दलले पनि विश्वास गरिरहेका छन्, आगामी निर्वाचनसम्म  पार्टीको नेतृत्व पनि देउवाले गर्नुपर्छ, ’नेता खांणले भने ।

एकताबद्ध कांग्रेसले संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ छ । कांग्रेस कमजोर भए जनता र जनताको हकअधिकार कमजोर हुने नेता खांणले बताए । ‘आम नागरिकलाई सक्षम, सफल र सक्षम बनाउन कांग्रेसलाई सृदृढ बनाउनुपर्छ, ’उनले भने । कांग्रेसकै अगुवाईमा मुलुकमा संविधानसभाबाट संविधान बनेको उनले बताए । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।