
आइतवार , मंसिर ५, २०७८
नवलपुर, ५ मंसिर ।
नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगेर निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो ।
एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडामा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताए । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आइतबार कावासोती नगरपालिका वडा नम्बर ३ बाट अभियान शुरु गरिएको आचार्यले बताए । अभियानको शुभारम्भ नेकपा एमाले नवलपुर जिल्ला इञ्चार्ज तथा संघीय सांसद तिलक महत क्षेत्रीले गरेका थिए ।
नगर कमिटी तथा वडा कमिटीहरुको भेला र बैठक बसेर निमन्त्रणा पत्र वितरणको काम सुरु गरिएको एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताए । प्रचार समितिले तयार पारेको निमन्त्रणा पत्रमा एमालेको कार्यकर्तालाई मात्रै नभएर पार्टीका शुभेच्छुक, शुभचिन्तक लगायत सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको हो ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा हुने तय भएको एमालेले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij