
सोमवार , मंसिर ६, २०७८
भैरहवा, ६ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा निर्वाचन (मतदान) स्थगित भएको छ । सभापति पदका उम्मेदवार मात्रिका प्रसाद यादव पक्षले रातको समयमा निर्वाचन कार्यक्रम गर्दा असुरक्षित हुने महसुस भएकाले भोलि (मंगलबार) गर्न आग्रह गरेको छ ।
उक्त पक्षले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा निर्वाचनमा कुटपिट तथा जेनेरेटरको तार तानिएपछि असहज परिस्थितिको सिर्जना भएकाले आजको निर्वाचन स्थगित गर्न माग गरेको हो ।
सभापति पदका उम्मेदवार तथा हाल कांग्रेस क्षेत्र नम्बर ३ का सभापति समेत रहेका नेता मात्रिका प्रसाद यादवले दिउँसो १ बजे मतदान गर्ने भन्ने निर्णय भए पनि निर्वाचन अधिकृतले मतपत्र छाप्न जाँदैछौं र छापेर आएपछि मतदान प्रक्रिया सुरु गर्छौ भनेको बताए । उनले भने, ‘१० मिनेट, २० मिनेट भन्दाभन्दै ढिला भयो, निर्वाचन क्षेत्र ठूलो छ, ४ बजेपछि टाढाटाढाका साथीहरुलाई रातमा घर जान समस्या हुन्छ, भनेर साथीहरुको रायसल्लाह अनुसार आज मतदान कार्यक्रम नगरौं भनेर आग्रह गरिएको हो ।
उनले प्रदेशसभाको निर्वाचनमा असहज परिस्थितिको सिर्जना भएकाले निर्वाचन आजका लागि स्थगित गरौं भनेर आग्रह गर्दा पनि आफूहरुको मागलाई वेवास्ता गरिएकाले बाहिर आएको बताए । उनले भने, ‘रात पर्न लागेकाले चुनावको माहोल थिएन, हामीले निर्वाचन बहिष्कार गरेका होइनौं, आज नगरौं मात्र भनेको हौं, तर मान्नुभएन ।’
आफूहरुको प्रतिनिधि बिना एकलौटी निर्वाचन गर्न खोजे न्यायका लागि लडाई लड्ने उनको भनाइ थियो । केही दिन अघि प्रदेशसभाको निर्वाचनमा भएको घटनाले असुरक्षित महसुस भएको उनले बताए ।
लुम्बिनी प्रदेशसभा सांसद तथा नेपाली कांग्रेस नेतृ रमा अर्यालले चांडो भन्दा चांडो मतदान सुरु गरौं भन्दा नगरिएको बताइन् । उनले कांग्रेस रुपन्देही जिल्ला कार्यसमिति पनि यसमा जिम्मेवार हुनुपर्ने बताइन् । केही दिन अघि आधा रातमा जेनेरेटर तान्ने र कुटपिट गर्ने जस्ता गतिविधि भएका थिए । ‘पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको महसुस भएको छ, उनले भनिन्, जित हारको सवाल होइन्, । ’निर्वाचनमा सुरक्षित महसुस गर्न नसकिएको उनको भनाइ थियो । उनले आफ्नै पार्टीका नेताबाट कुटिएको र साथीहरु घाइते भएको बताइन् ।
रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिका उम्मेदवार मात्रिका प्रसाद यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij