
सोमवार , मंसिर ६, २०७८
भैरहवा, ६ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन स्थगित भएको छ । क्षेत्रीय सभापतिका उम्मेदवार मात्रिका प्रसाद यादव र सुशिल गुरुङ पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । यादव पक्षले रातको समयमा मतदान प्रक्रिया सञ्चालन गर्दा असुरक्षित महसुस हुने भएका कारण स्थगित गर्नुपर्ने र भोलि (मंगलबार) मतदान गर्नुपर्ने माग गरेको थियो ।
यता सभापति पदका उम्मेदवार सुशिल गुरुङ पक्षले भने मतदानस्थल छाडेर जानु आपत्तिजनक भएको बताएको छ ।
सो (संस्थापन–पार्टी सभापति शेरबहादुर देउवा) समूहले सोमबार सांझ भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यादव पक्ष निर्वाचन बिथोल्ने हिसाबले लागेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार तथा हाल क्षेत्रीय सचिव समेत रहेका नेता सुशिल गुरुङले आज दुःखद दिन भएको बताए । उनले लोकतन्त्रको सबैभन्दा बलियो पाटो भनेको निर्वाचन भएको र निर्वाचनमा सबैभन्दा महत्वपूर्ण भूमिका मतदाता भएको बताए । ‘क्षेत्र नम्बर ३ का ३६ वटा वडामा धेरै नेता कार्यकता पवित्र भूमि पार्टी कार्यालयमा मतदान गर्न आउनुभएको थियो, ५० मत खखिसकेको थियो, तर एक्कासी आएर नेता कार्यकर्ताको उत्साहलाई तिलाञ्जली दिने गरी मतदान स्थगित गरियो भन्ने सूचना आयो, यसप्रति म मात्र नभएर कांग्रेसका प्रत्येक कार्यकर्ताहरु एकदमै घोर भ्रत्सना गर्दछौं, ’उनले भने । एकतर्फी यस्ता किसिमका कार्यहरु मान्य नहुने उनले बताए ।
‘एक पक्षका साथीहरु मतदान प्रक्रिया सुरु भइसकेको अवस्थामा एक्कासी हार स्वीकार गर्न नसकेर मैदान छोडेर जानुभयो, ’उनले भने ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले भने, ‘हारिन्छ कि भनेर सुरक्षा भएन भन्न त भएन नी, आखिर हामी कांग्रेसभित्रकै लोकतान्त्रिक पद्दतिबाट अगाडी बढ्ने हो । ’सकेसम्म सहमति, सहकार्य, एकता गर्ने र नभए लोकतान्त्रिक पद्दतिबाट अगाडी बढ्नुपर्ने उनले बताए । नेता खांणले सबै ठाउँमा निर्वाचन भइरहेको र साढे ३ बजे नै असुरक्षा भयो भन्नुहुन्छ भने कति बजे निर्वाचन गर्न सकिन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘यसरी त कहिले पनि निर्वाचन हुन सक्दैन ।’
क्षेत्र नम्बर ३ का मतदान अधिकृत अधिकृत जीवनारायण अधिकारीले निर्वाचन कार्यक्रम अनससार बिहान ६ बने नै निर्वाचन समिति खटिएको बताए । उनले भने, ‘सहयोग गर्नुपर्ने दायित्व÷जिम्मेवारी पाएकासंग समयमै समन्वय प्राप्त गर्न सकेनौं, मतदानस्थलको सुरक्षा लगायत व्यवस्थापन सम्बन्धमा महत्वपूर्ण जिम्मेवारी थियो, तर त्यो अनुसार सहयोग प्राप्त गर्न सकेनौं । ’महाधिवेशनलाई क्षेत्रीय प्रतिनिधिको इच्छा र चाहना अनुसार नै सम्पन्न गर्नुपर्छ भन्ने लागेर काम गरिएको अधिकारीले बताए ।
‘दिउँसो १ बजे मतदान सुरु गर्न निर्वाचन कार्यक्रम रहेको थियो तर मतपत्र छपाई केही ढिला भएका कारण सवा ३ बजे मतदान कार्यक्रमका लागि तयार भएका थियौं, तर केही साथीहरुले मतदान सुरु गरौं भन्दा विभिन्न खालका कठिनाई व्यवस्थापनका, गोपनियता लगायतका कुरा देखाएर निर्वाचन नगर्न आग्रह गर्नुभयो,’ उनले भने । पछि उहाँहरु नै आएर निर्वाचन गरौं भनेर मुचुल्कामा सही गरेर निर्वाचन कार्य सुरुवात गर्नुभएको अधिकारीले बताए । मतदान साढे ३ बजेदेखि सुरु भएको मुचुल्का उहाँहरुले नै गर्नुभएको हो । ५० वटा मत खसिसकेको र उहाँहरुले मैदान नै छोडेको निर्वाचन समितिले जानकारी पाएपछि सबै पक्ष नभएपछि निर्वाचन हुने कठिनाइ रहेको उनले बताए । उनले भने,‘ निर्वाचन गर्न निर्वाचन समितिलाई उपयुक्त लागेन, त्यसैले निर्वाचन स्थगित गर्न बाध्य भयौं । ’
केन्द्रीय महाधिवेधन प्रतिनिधिका उम्मेदवार बिमल प्रसाद ढकालले समय तालिका अनुसार प्राविधिक कारणले मतदान प्रक्रिया केही ढिलाइ भएको बताए । उनले भने, ‘मात्रिका यादव लगायत साथीहरुले मतदानस्थल छाडेर गैरजिम्मेवारी हिसाबले हिड्नुभयो, उहाँहरु निर्वाचन बिथोल्ने हिसाबले लाग्नुभएको थियो । ’क्षेत्रीय अधिवेशन गर्ने जिम्मेवारी क्षेत्रीय सभापतिको भए पनि आज उहाँहरुले गर्नुभएको क्रियाकलाप आपत्तिजनक रहेको ढकालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij