२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

एमाले महाधिवेशन : सौराहामा दुई हजार क्षमताको बन्दसत्र हल निर्माण हुँदै

मंगलवार , मंसिर ७, २०७८

चितवन, ७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा २ हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । 

महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए । महाधिवेशनका सहभागी हुने २ हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र १ हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताए । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र सौराहामा हुँदैछ । 

एमाले महाधिवेशनको बन्दसत्रमा करिब २ हजार प्रतिनिधि सहभागी हुँदैछन् । सौराहामा २ दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलाबा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा ३ हजार ५ सय कोठाहरु अग्रिम बुक गरिसकेको छ । 

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटलमै व्यवस्था गरिएको छ । मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गरेका छन् ।