२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कांग्रेस दाङको सभापतिमा डाँगी

आइतवार , मंसिर १२, २०७८

दाङ, १२ मंसिर ।
नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम  प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत  प्राप्त गरेका थिए । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शंकरबीच भएको सहमतिपश्चात् शंकर जिल्ला सभापति भएका हुन् ।

भूपेन्द्रबहादुरले शंकरलाई सभापतिमा समर्थन गरेपछि शंकरलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिए ।  तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा निर्वाचित भएका हुन् ।

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । विसं २०५९ मा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भएका थिए ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित भएका छन् । 

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित भएका छन् । लम्सालले  एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गरेका छन् ।  सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी भएका छन् ।। 

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो । रासस