
मंगलवार , आश्विन २०, २०७७
बुटवल, २० असोज ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सार्न लागेको नभई बनाउन लागेको बताएका छन् । बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजेका रुपमा नबुझ्न आग्रह गरेका छन् । राजधानी बनाउन बाँकी नै रहेकाले त्यो दाङको भालुवाङमा बनाउन लागिएको उनले बताए ।
उनले भने, ‘एउटा चर्चा चल्यो प्रदेश सार्न खोजियो, सार्न होइन बनाउन खोजेको हो, कहाँभन्दा पनि कस्तो बनाउने भन्ने बारे सोचौं । प्रस्तावित ठाउँले साझा मनोविज्ञान निर्माण गर्छ ।’
प्रदेशसभामा प्रस्तुत भएको राजधानी र नामको प्रस्तावमाथिको छलफलमा बोल्दै यसको निर्णय आफूले मात्रै नगरेको उनले स्पष्ट पारे । प्रदेशसभाका सांसदहरु मध्येबाटै बनाइएको विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयन गरेको उनले बताएका छन् । दाङ राजधानी बनाउने कुरा उक्त प्रतिवेदनमा पहिलो विकल्पका रुपमा राखिएले त्यसलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने, ‘उक्त समितिले दिएको प्रतिवेदन एकातिर र प्रदेश सरकारले अर्कातिर निर्णय गरेको भए विरोध जायज हुन्थ्यो ।’ प्रदेशको राजधानी र नाम तोक्ने विषयमा प्रदेशसभा भित्रका सांसदहरुको विशेष समिति बनाइएको उनले स्मरण गरे ।
विशेष समितिले पहिलो विकल्पमा दाङ, दोस्रोमा रुपन्देही र तेस्रो कपिलवस्तु राजधानी तोक्ने प्रतिवेदन दिएको उनले बताए । यसका लागि राप्ति र भेरीका सांसद लुम्बिनी र लुम्बिनीका सांसदलाई राप्ति र भेरीमा पठाइएको उनले बताए ।
उनले भने, ‘विशेष समिति आफैंले यो प्रतिवेदन दिएको हो । उपयुक्त निष्कर्ष निकालियोस् भन्ने म्यान्डेट पनि दिएको हो । सरकार समितिअनुसार नै चलेको हो ।’
उनले सम्बोधनको सुरुवातमा एक आमाले प्रसव वेदना सहनुपरे जस्तै राजधानी तोक्ने प्रक्रिया पनि त्यस्तै रहेको बताए । नयाँ इतिहास निर्माण गर्दा समाजले त्यस्तै प्रसव वेदना सहनुपर्ने उनको भनाइ थियो । नयाँ कामका लागि असहजता हुने बताउँदै त्यसलाई स्वाभाविक रुपमा लिन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij