२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कांग्रेसले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

सोमवार , मंसिर १३, २०७८

काठमाडौं, १३ मंसिर ।
नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही मंसिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मंसिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दावी विरोध दर्ता गर्ने तथा जाँचबुझ गर्ने कार्यतालिका छ ।

त्यसैगरी, मंसिर २६ गते १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।

यसैगरी, समितिले मंसिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका पनि तय गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मंसिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दावी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मंसिर १७ गते २ बजे सो उपर निर्णय गर्ने कार्यतालिका छ ।

मंसिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, मङ्सिर १७ गते साँझ ६ः३० मनोनयन फिर्ता लिने, मंसिर १७ गते साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुनेछ ।

कांग्रेसले प्रदेश अधिवेशन यही मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म तोकेको छ । रासस