
शुक्रवार , मंसिर १७, २०७८
भैरहवा, १७ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्वका लागि संस्थापन इतर (रामचन्द्र पौडेल) समूहले उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार मनोनयनपत्र दर्ता हुनुअघि उक्त समूहले भैरहवामा पत्रकार सम्मेलन (घोषणा सभा) को आयोजना गरी अमरसिंह पुन मगर नेतृत्वको प्यानलमा उम्मेदवारी दिने घोषणा गरेको हो ।
उक्त समूहको उपसभापतिमा भुवन प्रसाद श्रेष्ठ, अष्टभुजा पाठक, महामन्त्रीमा विक्रम खनाल, सुरेन्द्रराज आचार्य, सह–महामन्त्रीमा निमा गिरी, विष्णु खनाल (मुस्कान) र खगराज पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणासभामा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार अमरसिंह पुन मगरले नेपालको समृद्धिका लागि कांग्रेसलाई मजबुत बनाउनुपर्ने बताए । उनले युवालाई कसरी नेतृत्वमा स्थापित गर्ने र सम्मानित व्यक्तिलाई व्यवस्थापन गर्दै सबैलाई मिलाएर संगठन मजबूत बनाउन समूह लाग्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले भने, ‘जसले समान आँखाले हेरेर तटस्थ बस्नुपर्दथ्यो, उहाँले नै मञ्चबाट भोट माग्नुभयो । ’उनले निष्ठा, इमान्दारीले जित्नुपर्ने अवस्था रहेको बताए । डा. भण्डारीले देश बनाउन अगाडी बढेकाले कुनै स्वार्थ नरहेको बताए । उनले भने, ‘पैसा, पदको लोभ देखाइएला, तर अहिले पैसा र पदको लोभलाई जिताउनुहुँदैन ।’ ।’ प्रदेशको जितले केन्द्रमा नेतृत्वको जित हुने उनको भनाइ थियो ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले सभापतिका उम्मेदवार अमरसिंह पुन मगर नेतृत्व समूहको विजय सुनिश्चित भएको दावी गरे ।
पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य संजय गौतमले पार्टीमा लामो संघर्षपूर्ण जीवन बिताएका नेताहरुलाई प्रदेशको नेतृत्वको अभिभारा सुम्पिएको बताए । उनले कुनै कुरामा विचलित नहुन आग्रह गरे । उनले भने, सत्ता, तागत, पैसा, बलको प्रयोग गरेर इमान्दार कार्यकर्तालाई पाखा लगाउनेविरुद्धको यो लडाई हो ।
कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, पार्टीका प्यूठान उपसभापति देवेन्द्र वर्माले अमरसिंह पुन मगर समूहको उम्मेदवारलाई जिताउन आग्रह गरे ।
प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सह–महामन्त्री गरी ८ जना पदाधिकारीमा निर्वाचित हुनेछन् ।
त्यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछ्न । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातितर्फ २ महिलासहित ५ जना, मधेशीतर्फ २ महिलासहित ४ जना, दलिततर्फ २ महिलासहित ४ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांगतर्फ १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij