२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

महाधिवेशनपछि एमाले थप प्रभावशाली : प्रदीप ज्ञवाली

बिहिवार , मंसिर २३, २०७८

काठमाडौं, २३ मंसिर ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताए । मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै उनले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्टपारे ।

उनले यही मंसिर २८ गतेदेखि हुने संघीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने बताए । नेता ज्ञवालीले पार्टीले कारवाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान व्यक्त गरे । उनले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने भएकाले न्याय क्षेत्र सुधारका लागि दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए । रासस