२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

अनेमसंघ सिद्धार्थनगर–७ को वडा सम्मेलन, अध्यक्षमा पराजुली

शुक्रवार , मंसिर २४, २०७८

भैरहवा, २४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को वडा सम्मेलन शुक्रबार भैरहवामा सम्पन्न गरेको छ । सम्मेलनले मञ्जु पराजुलीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मुना आचार्य, सचिवमा पार्वती खनाल, सह-सचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा पार्वती आचार्य रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विन्दु पौडेल, विष्णु सारु, सर्मिला शर्मा, सीमा ज्ञवाली, पुजा के.सी., कमला दाहाल, बसन्ता पोखरेल, जानकी पौडेल, पुतला कुँवर, विद्या घिमिरे, मीना शर्मा र गंगा घिमिरे रहेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले पार्टी र जनवर्गीय संगठनबीच प्रगाढ सम्बन्ध बनाउनुपर्ने बताए । उनले अनेमसंघ लामो इतिहास बोकेको संगठन भएको र चुनौतीपूर्ण अवस्था पार गरेर यहाँसम्म आएको बताए । नेता पन्थीले वर्तमान गठबन्धन सरकार जनता र देशको लागि काम गर्नेतर्फ नभइ एमाले सिध्याउने खेलमा लागे पनि त्यो सपना पुरा नहुने बताए । उनले भने, आगामी निर्वाचनमा एमालेलाई हार्ने छुट छैन, एमालेले जित्नु र अन्य पार्टीले जित्नुमा फरक छ ।

विशिष्ट अतिथि अनेमसंघ केन्द्रीय सदस्य उमा अधिकारीले सोच परिवर्तनको आवश्यकता रहेको बताइन् । उनले एमाले अन्य पार्टी भन्दा शक्तिशाली भएको दावी गरिन् । उनले एमालेले सबैलाई समेटेको बताइन् । 

कार्यक्रममा एमाले क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सदस्य नरेन्द्र भण्डारी, सिद्धार्थनगर–७ का अध्यक्ष कमलेश बहादुर श्रेष्ठ, पार्टीका नगर कमिटी सदस्य तथा सिद्धार्थनगर–७ का वडा सदस्य हरि काफ्ले, अनेमसंघ रुपन्देही जिल्ला सचिवालय सदस्य प्रभा पौडेल गौतम, अनेमसंघ सिद्धार्थनगरका अध्यक्ष पार्वती पौडेल, सचिव दिल कुमारी कुँवर लगायतले बोल्दै सिंगो मुलुकलाई एमालेमय बनाउनुपर्ने बताए ।

कमला दाहालको अध्यक्षता, विष्णु भट्टराईको स्वागत तथा सुष्मा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।