
आइतवार , मंसिर २६, २०७८
भक्तपुर, २६ मंसिर ।
नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ । यही मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम ४५ जना केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरोको गठन लगायतका निर्णय भएका हुन् ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय विभागमा जिम्मेवारी, प्रदेशका इञ्चार्ज, पदाधिकारी तोकिनुका साथै जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज पनि निर्धारण गरिएको बताउँदै पार्टीमा अब वडा तहसम्म प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका अभियान सञ्चालन गरिने जानकारी दिए ।
बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसंगठनका महाधिवेशन सम्पन्न गर्न निर्णय पनि गरेको छ । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले तोकिएका सबै कार्यसूचीमा छलफल भएर सफलतापूर्वक बैठक सकिएकाले अब सिंगो पार्टीको ध्यान देशव्यापी परिचालन गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ केन्द्रित हुने बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij