२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

महिला सशक्तिकरणको नेतृत्व अनेमसंघले लिनुपर्छ : शंकर पोखरेल

सोमवार , मंसिर २७, २०७८

काठमाडौं, २७ मंसिर ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला संघ (अनेमसंघ)ले लिनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघले आज यहाँ आयोजना गरेको ‘एमाले १० औं राष्ट्रिय महाधिवेशनको सन्देश : समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला संघले संगठन विस्तारलाई ध्यान दिनुपर्ने बताए ।

“हरेक घरमा महिला संघ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उनले भने, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।” उनले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अघि नै सबै जनवर्गीय संगठनको फागुन मसान्तभित्र महाधिवेशन सक्न निर्देशन दिएको बताए ।

महासचिव पोखरेलले समाजका सबै तहमा महिलालाई योग्य बनाउने सके मात्रै अनेमसंघको सान्दर्भिकता र सार्थकता पुष्टि हुने बताए । आर्थिक क्रियाकलापमा सहभागिमा न्यून रहेको भन्दै उनले उत्पादनमा सहभागिता, सम्पत्ति आम्दानी बनाउने जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्ने बताए । सामाजिक आन्दोलनले समाजलाई बदल्ने सक्ने उनको भनाइ थियो ।  निर्वाहमुखी कृषि, व्यापार जस्ता पछौटेपनले समाजवादको आधार तयार गर्न नसक्ने भनाइ राखे । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनलाई थप सशक्तिकरण गर्नुपर्ने धारणा राखिन् । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा दुई पदाधिकारीसहित ११७ जना महिला केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका छन् । एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्यका अनुसार ६ जना स्थायी कमिटी सदस्य र १८ पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका छन् । स्थायी कमिटीमा उपाध्यक्ष शाक्य, सचिव अर्यालसहित डा शिवमाया तुम्बाहाम्फे, थममाथा थापा, सीता पौडेल र विन्दा पाण्डे रहेका छन् । रासस