२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्बाट

बुधवार , मंसिर २९, २०७८

काठमाडौं, २९ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने  जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतदान भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थए । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजारर ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापतिबाहेकका बाँकी पदाधिकारी र सदस्यको मतगणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मतगणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । उनले भने, “आजै अपराह्नबाट मतगणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा थिए । रासस