२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बेथिति देखिए सशक्त रूपमा प्रस्तुत हुन्छौँ : डा. शेखर कोइराला

बुधवार , मंसिर २९, २०७८

काठमाडौं, २९ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी डा. शेखर प्रसाद कोइरालाले पार्टीमा बेथिति भए सशक्त रूपमा प्रस्तुत हुने बताएका छन् । कोइराला समूहले बुधबार आयोजना गरेको महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा उनले चुनावी परिणामलाई स्वभाविक रूपमा लिएको र स्वस्थ प्रतिष्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित हुनुभएको बताए ।

“निर्वाचन हारे पनि हामीले लिएको विचार विजयी भएको छ, हाम्रो मुद्दा स्थापित भएको छ, युवा पुस्ताका लागि हामीले अवसर खोलिदिएका छौँ, हामी कांग्रेस रूपान्तरणमा लागेका छौँ, यसका लागि फेरि जनताका घरदैलोमा जान्छौँ, आगामी महाधिवेशनमा हामी सफल हुन्छौँ”, नेता कोइरालाले भने । भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने घोषणा समेत उनले गरे । अबको राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्ने समेत नेता कोइरालाको भनाइ थियो । 

कांग्रेस नेता डा. रामशरण महतले विधिविपरीतका धेरै काम भएकाले अब नेतृत्व सच्चिनुपर्ने बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिलेसम्म भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न पार्टीको यो विचार समूहले आवाज उठाउनुपर्नेमा जोड दिए । पार्टी हुकुमी र हैकमी प्रवृत्तिबाट नभई विधिबाट चल्नुपर्ने उनको भनाइ थियो ।
 
पूर्वमन्त्री एवं कांग्रेस नेता बलबहादुर केसीले राष्ट्रिय राजनीति ठीक तरिकाले नचली कालो बादल मडारिन थालेकाले सचेत हुन नवनिर्वाचित पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराए । व्यक्ति नभई नीतिका पछि आफूहरु लागेको उनको विचार थियो ।

महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले नयाँ नेतृत्व देश र पार्टीको हितमा गर्ने काममा सहकार्य एवं देश र पार्टीको घात गर्ने काममा सङ्घर्ष गरेर अघि बढ्ने बताए । अघिल्लो दिनसम्म पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भन्ने नेताहरु एकाएक पुरानै नेतृत्वका पक्षमा लाग्नुको उत्तर नेपाली जनता एवं पार्टी कार्यकर्ताले खोजिरहने उनले बताए । शेखर समूहले महाधिवेशनमा ४० प्रतिशत मत पाएकाले यो बोकेर चार वर्षसम्म क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेत्री कमला पन्तले तीनै तहको निर्वाचन नजिकै आएकाले कसरी अघि बढ्ने भन्ने चिन्तन सुरु गर्नुपर्ने विचार राखिन् । उपसभापतिका उम्मेदवार डा. चन्द्र भण्डारीले नवनिर्वाचित पार्टी नेतृत्वलाई एउटा गुटमात्र नभई सिंगो पार्टी चलाउने गरी काम गर्न सुझाव दिए ।

उपसभापतिका अर्का उम्मेदवार धनराज गुरुङले अर्को महाधिवेशनमा ५१ प्रतिशत मत ल्याउने गरी विचार र आस्थाले काम गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा महामन्त्रीको उम्मेदवारसमेत रहेका रक्षामन्त्री डा मीनेन्द्र रिजालले यो समूहले आगामी दिनमा पार्टीभित्र व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व भने हुनुपर्नेमा जोड दिए । निर्वाचित नेतृत्वमा परिवर्तनको पनि जिम्मा महाधिवेशनले दिएकाले त्यसतर्फ विचार पुर्याउन नेतृत्वको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेता गुरुराज घिमिरे, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बु, नेता भूपेन्द्रजङ्ग शाही लगायतले पहिलो मतदानमा एक हजार ७०२ मत आएकामा पुनः मतदान हुँदा सभापतिका अरु तीनै जना नेताले देउवालाई समर्थन गर्दा पनि १५३ मत बढ्नु नै शेखर समूहको जीत भएकामा जोड दिए । कार्यक्रममा देशभरका महाधिवेशन प्रतिनिधिको सहभागिता थियो । रासस