२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

बिहिवार , पौष १, २०७८

काठमाण्डौं। नेपाली कांग्रेसको उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा खड्का र गुरुङ निर्वाचित भएका हुन्। 

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएका हुन्। 

वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य थिए। यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार बनेका थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार बनेका थिए। 

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले पराजित भए।  सभापति देउवा ‘प्यानल’ बाट चुनावी प्रतिपर्धामा उत्रेका गच्छदारले एक हजार ९०६ मत प्राप्त गरे। समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरे। 

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो। यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो। सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो। 

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो।