२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

शुक्रवार , पौष २, २०७८

काठमाडौं, २ पुस ।
नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी हुन्् । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी दुई हजार २१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी मानबहादुर विश्वकर्माले २ हजार १७५ र गंगा सुनारले २२९ मत प्राप्त गरेका छन् । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।

त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरेका छन् । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । रासस