
सोमवार , पौष ५, २०७८
काठमाडौं, ५ पुस ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना र तरुण दलका अध्यक्ष जीतजंग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।
विस २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बनेका बस्नेत र विसं २०७६ माघ १६ गते १२ औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुंगाना (खुलातर्फ) केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसंघ र तरुण दल नेतृत्वविहीन बनेको हो ।
पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुंगाना एक हजार ८९६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन ।
पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ । साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ । बस्नेत र ढुंगानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिएका थिएनन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij