२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी

मंगलवार , पौष ६, २०७८

जनकपुर, ६ पुस ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि संघीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । 

प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिससकेका छन् । 

निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिए ।

मतदान बुधबार बिहानबाट हुने जनाएको छ ।  प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ ।  

प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ । यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ । रासस