२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

एमालेसँग मात्र देश बनाउने नीति छ : केपी ओली

बुधवार , पौष ७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • कपिलवस्तु, ७ पुस । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको दावी गरेका छन् । उनले मुलुकको विकासका लागि एमाले अग्रसर भएको बताए ।

    नेकपा एमाले जिल्ला कमिटी, कपिलवस्तुले मंगलबार बहादुरगंजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए । उनले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने समेत बताए ।  ’यता नेपालतर्फ बांझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन, ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ ।’ अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट एमाले नभइ वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार डराएको बताए ।कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य मंगल गुप्ता एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराए । सो अवसरमा बोल्दै नेता गुप्ताले यस क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको र अब यस क्षेत्रलाई एमालेमय बनाउने बताए ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ६ हजार ५ सय जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले जानकारी दिए ।