२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

प्रतिनिधिसभा बैठक : एमालेको बिरोधका वीच बिभिन्न अध्यादेश पारित

बुधवार , पौष ७, २०७८

काठमाण्डौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बिरोधकाबीच बुधबार पनि प्रतिनिधिसभाले बिभिन्न अध्यादेश पारित गरेको छ । 

बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए। एमालेको बिराधपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसदमा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए। 

उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गरेका छन्। उनले संसदीय व्यवस्था सिद्धान्तमात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनःध्यानाकर्षण गराए। 

सभामुख सापकोटाले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराएका छन्। 

तर एमालेका सांसदहरुले विरोध कायमै राखेपछि सभामुख सापकोटाले कार्यसूचीलाई अघि बढाएका थिए। बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरेको छ। 

प्रतिनिधिसभाको अर्को बैठक पौष १८ गते आइतबारका लागि बोलाइएको छ। गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ।