
बिहिवार , पौष ८, २०७८
वीरगंज, ८ पुस ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याए ।
उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे । उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा (एमाले)ले विगतमा विभिन्न कार्य गरेको दावी गरे ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका हुन् । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया लगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गरेका थिए । मिया नेकपा (माओवादी केन्द्र) बाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij