
शनिवार , पौष १०, २०७८
भैरहवा, १० पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले संविधानमा व्यवस्था भएको मर्मलाई पालना गर्ने पहिलो पार्टी एमाले भएको बताएका छन् । पार्टीको रुपन्देही जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता विश्वकर्माले एमालेले तयार पारेको विधिलाई अन्य दलले समेत अनुशरण गर्दै गएको उल्लेख गरे ।
पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका विश्वकर्माले पार्टीको सबै तहमा समावेशी सहभागितालाई एमालेले पूर्ण रुपमा पालना गरेको औंल्याउदै केन्द्रदेखि वडा तहसम्म त्यसको तस्वीर प्रष्ट देखिएको दावी गरे ।
कार्यकर्ताहरुले पार्टी हितलाई केन्द्रमा राखेर अघि बढनु पर्ने बताउदै विश्वकर्माले पार्टी लहड र भावनाको आधारमा नचल्ने भन्दै नीति, विधि र पद्धतिमा आधारित भएर पार्टी काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीलाई मजबुत र एकतावद्ध बनाउन हरेक तहबाट ५ वटा सुझाव संकलन गर्नुपर्ने बताउँदै उनले त्यसरी प्राप्त हुने सुझावले पार्टीलाई बलियो र शसक्त बनाउने धारणा राखे ।
सचिव विश्वकर्माले जबजको निर्देशन र त्यसको आलोकबाट अघि बढेको एमाले सही र ठिक ढंगले अघि बढेमा देशको सम्वृद्धि पनि गतिशील भएर अघि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिको मियो एमाले हो । एमालेको अगुवाइमा मात्रै मुलुकले निकास पाउँछ ।’
वर्तमान सन्दर्भमा देखिएका चुनौतीलाई छिचोलेर अघि बढन कार्यकर्ताले जनता र पार्टी नेतृत्वले कार्यकर्तालाई आधार मानेर काम गर्नुपर्नेमा जोड दिदै विश्वकर्माले विपक्षी र गठबन्धनका मोर्चालाई ध्यान राखी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।
पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य शिवराज सुवेदीको अध्यक्षता र सचिव जगेश्वरीदेवी चौधरीको सञ्चालनमा भएको वैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, प्रदेश कमिटी उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ, जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे लगायतले बोलेका थिए । बैठकले पार्टीको १० औं जिल्ला अधिवेशन पौष २३ र २४ गते भैरहवामा सम्पन्न गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij