
शनिवार , पौष १०, २०७८
भैरहवा, १० पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधानले प्रदान गरेका अधिकारबाट समेत वञ्चित गरिएको बताए । उनले संविधानले दिएको अधिकारबाट नागरिक वञ्चित भएको बताए ।
लोसपा जिल्ला कार्यसमितिले शनिबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता ठाकुरले भने, ‘संविधानमा प्रत्येक नागरिकलाई नागरिकता दिनुपर्ने उल्लेख छ, तर अहिले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । उनले लाखौं नागरिक नागरिकताबिहीन भएको बताए ।
नेता ठाकुरले मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला, पिछडिएको समुदायको मुद्दा नछोडेको बताए । उनले भने, ‘पटकपटक सरकारले हाम्रो माग पुरा गर्ने सम्झौता गर्योतर हाम्रो माग पुरा भएका छैनन् । ’
उनले प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि माग सम्बोधन गर्ने सम्झौता गरे पनि नभएको बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले केही मुद्दाहरु फिर्ता लिएका कारण केही राहत भएको उनको भनाइ थियो । आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संघर्षमै रहने नेता ठाकुरले बताए । नेपाल पहिचान, भाषा, क्षेत्र, जाति, धर्मको आधारमा भेदभाव रहेको उनले बताए ।
त्यस्तै लोसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले मुलुकका प्रत्येक नागरिकलाई बराबर अधिकार र सम्मान दिनुपर्ने बताए । उनले विभेदविरुद्धको लडाई सफल हुनेमा विश्वस्त रहेको बताए । अधिकारको लागि लडाई एक दुई निर्वाचन जित्ने हार्नेसंग मतलब हुँदैन, उनले भने । जनताको अधिकार घरसम्म पुग्ने माध्यम संघीयता रहेको उनको भनाइ थियो ।
लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले सभामुख अग्नी सापकोटा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन अनुसार चलेको आरोप लगाए । उनले सभामुखले संसद चल्ने वातावरण बनाउन नसकेको बताए । वर्तमान सरकार हिड्डुल गर्ने अवस्थामा नरहेको उनको भनाइ थियो । सरकारले पुँजीगत खर्च गर्न नसक्दा अर्थतन्त्र धरासायी बन्दै गएको नेता शुक्लले बताए ।
लोसपा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष राजेश रंजन वर्मा (अजय वर्मा)को अध्यक्षता, जिल्ला कार्यसमिति रुपन्देहीका वरिष्ठ नेता मोहनलाल यादवको स्वागत तथा जिल्ला सचिव एवं प्रवक्ता मोहम्मद इस्लाम खानको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य इकबाल अहमद साह, निलम कुमारी यादव, मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनिया, मनिष चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५७५ जना नेता कार्यकर्ता लोसपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला सचिव मोहम्मद इस्लाम खानले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij