
आइतवार , पौष ११, २०७८
भैरहवा, ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ कमिटीले वडामा विभिन्न टोल कमिटी गठन गरेको छ । वडा नम्बर ९ मा ५ वटा टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–९ का सचिव यादव प्रसाद आचार्य (वाई.पी.)ले बताए । टोल नम्बर १ (स्वास्थ्य कार्यालयदेखि वृहस्पति कलेज, दुमदुमवा) सम्म राजपति कुर्मीको संयोजकत्वमा २७ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कमिटीको सह–संयोजकमा अशोक बेल्बासे रहेका छन् ।
टोल नम्बर २ (गोलीगढदेखि भट्टाटोल) सम्म रबिन्द्र काफ्लेको संयोजकत्व र राधा अर्यालको सह–संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको छ । टोल नम्बर ३ (सानो कलोनी, डाँडागाउँ) मा बिन्दु शाहीको संयोजकत्व र राजाराम गौतमको सह–संयोजकत्वमा २३ सदस्यीय कमिटी गठन गरिएको छ ।
त्यस्तै टोल नम्बर ४ (वडा नम्बर ९ को कार्यालय, मिश्रौलिया, उदयपुर हुँदै गोनहिया)सम्म युवराज बरालको संयोजकत्व तथा मान बहादुर थापाको संह संयोजकत्वमा १३ सदस्यीय र टोल नम्बर ५ (भानुपथ, रुपन्देही क्याम्पस हरिपथ प्रभातपथ) मा विजया गिरीको संयोजकत्व र चुडामणि भुर्तेलको सह-संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डासुराम पाण्डेले देशमा रहेका विभिन्न पार्टीमध्ये एमाले सबैभन्दा ठूलो पार्टी भएको बताए । उनले चितवनमा सम्पन्न पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सोचे भन्दा बढी जनसहभागिता भएको बताए । नेता पाण्डेले गठबन्धन गरेर नगए एमालेले दुईतिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गर्छ भनेर वर्तमान सरकारमा आबद्ध दलका नेताहरु अत्तालिएको बताए ।
त्यस्तै एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्य, जिल्ला सदस्य डिजाइन थापा, सिद्धार्थनगर–९ का इञ्चार्ज लक्ष्मी पाण्डे, नगर कमिटी सदस्यहरु बसन्त भट्टराई, प्रभा पौडेल गौतम, कमल पोख्रेल, शान्ति अधिकारी, तुल्सीराम पराजुली, एमाले सिद्धार्थनगर–९ का अध्यक्ष लक्ष्मण ज्ञवाली, सिद्धार्थनगर वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगर–९ का अध्यक्ष गौतम पौडेल, अखिल नेपाल महिला संघ सिद्धार्थनगर–९ का अध्यक्ष बसुन्धरा पोखरेल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij