
आइतवार , पौष ११, २०७८
भैरहवा, ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमाले सर्वाधिक शक्तिशाली जनमत र जनविश्वास प्राप्त पार्टी भएको बताएका छन् । उनले एमालेको विस्तार र मजबुतिबाट मात्रै राष्ट्र समृद्धिको ढोका खुल्ने बताउँदै वर्तमान गठबन्धनको सरकार स्वार्थैस्वार्थमा लिप्त रहेको दावी गरे ।
सुर्य चिन्ह लिएर विजयी भएकाहरु नै केपी ओली नेतृत्वको सरकार गिराउने काममा लागेको भन्दै विश्वकर्माले भने, ‘सरकारबाट बाहिरिए पनि देशकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी एमाले नै हो । ’
नेकपा एमाले ओमसतिया गाउँ कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका विश्वकर्माले जनमत हँुदाहुँदै पनि अदालतको फैसलाका कारण बाहिरिएको एमाले सदैव जनताको बीचमा रहेको उल्लेख गरे । उनले अबका दिनमा कार्यकर्ताहरुले निर्वाचन लक्षित काम गर्नुपर्नेमा समेत जोड दिए ।
जनताको आवश्यकता र चाहाना अनुसार एमालेले गरेका विकास र निर्माणका कामहरुका बारेमा जनताको बीचमा प्रचार गर्न कार्यकर्ताहरुले ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेता विश्वकर्माले विगत लामो समय नभएका कामहरु एमालेको पालामा द्रुत गतिमा अघि बढेको औंल्याए । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्माले यो क्षेत्रको विकासमा भएका कामहरुले एमालेप्रतिको विश्वासमा वृद्धि भएको दावी गरे । उनले काम र परिणामले मात्र पार्टी विस्तारलाई योगदान पुग्ने भएकाले एमालेका कार्यकर्ताहरु परिणाममुखी काममा लाग्नुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले जहाँ पार्टी बलियो हुन्छ, त्यहा विकास र परिवर्तन हुने भएकाले एमालेका कार्यकर्ताहरु पार्टीलाई मजबुत बनाउन लाग्नुपर्ने बताए ।
जनतालाई सचेत र जागरुक बनाएर संगठन निर्माणमा ध्यान दिनुपर्ने बताउँदै न्यौपानेले सबै कार्यकर्ताको सामूहिक प्रयासबाट एकताबद्ध पार्टी निर्माण गर्न सकिने धारणा राखे ।
पार्टीका लुम्बिनी प्रदेश सह–इञ्चार्ज समेत रहेका नेता न्यौपानेले भने, ‘पार्टी कामको जिम्मा लिनु भनेकै भारी बोक्नु हो । त्यसैले समाज रुपान्तरण र विकासका लागि सवैले क्षमता अनुसारको भारी बोकौं ।’
न्यौपानेले सबैको पहलकदमीबाट मात्रै पार्टीको विस्तार सम्भव भएकोले पार्टी संगठनलाई समावेशी र सामुहिक अभ्यासबाट अघि बढाउनुपर्नेमा जोड दिए ।
पार्टी गाउँ कमिटी अध्यक्ष ईन्द्र प्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष मातृका यादवको स्वागत तथा सचिव श्याम वस्यालको सञ्चालनमा भएको बैठकमा पार्टीका क्षेत्रीय कमिटी संयोजक यज्ञ गैरे, जिल्ला कमिटी सदस्य ईन्द्रजित यादव, विजय लक्ष्मी राय लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij