
सोमवार , पौष १२, २०७८
भैरहवा, १२ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले अब कांग्रेसलाई देशमा कसैले हराउन नसक्ने दावी गरेका छन् । उनले कांग्रेस समावेशी पार्टी भएको बताए ।
कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य अब्दुल रज्जाकको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता रज्जाकले दुनियामा कांग्रेस जस्तो अरु पार्टी नभएको बताए । कांग्रेसप्रति जनताको विश्वास भएकाले जनताप्रति वफादार र उत्तरदायी भएर काम गर्न नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरे । ‘मुलुकमा अरु पार्टीले काम गर्न सक्दैन, कांग्रेसले मात्रै गर्छ, ’रज्जाकले भने ।
कांग्रेसमा सबै जात, धर्म, वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व भएको उनको भनाइ थियो । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका रज्जाकले एकताबद्ध भएर अगाडी बढ्दै कांग्रेसलाई मुलुकको पहिलो शक्ति बनाउनुपर्ने बताए ।
कांग्रेस रुपन्देहीका निवर्तमान सभापति समेत रहेका नेता रज्जाकले पार्टीको शिर झुक्न नदिने बताए । उनले भने, ‘वडा, गाउँ, नगर, प्रदेश, प्रतिनिधिसभा सबै क्षेत्रमा पार्टीलाई जिताउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यस्तै विशिष्ट अतिथि कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देही जिल्लामा पार्टीको संगठन कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रीत हुनुपर्ने बताए ।
संविधानसभा सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि इस्तियाक अहमद खान, संविधानसभा सदस्य जन्नतुन निशा, नेता देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका निवर्तमान कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का र शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेलले रुपन्देहीबाट (दुईजना) बालकृष्ण खाँण र अब्दुल रज्जाक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनु गर्वको विषय भएको बताए ।
कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (ख)का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij