
मंगलवार , पौष १३, २०७८
भैरहवा, १३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशभक्तिको सवालमा माओवादी केन्द्रको पहिचान नभएको बताएका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकलाई मंगलबार लुम्बिनीमा उद्घाटन गर्दै गुरुङले एमाले मुलुकको पृथक पहिचान बनाएको पार्टी भएका बताए । देशभक्तिपूर्ण आन्दोलनको च्याम्पियन एमाले भएको उनले दावी गरे ।
पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताए । उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्ने पार्टीको रुपमा हाम्रो स्थापित छ, मुलुकको सबैभन्दा लोकतान्त्रिक पार्टी हो, गर्वका साथ भन्छौं, एमाले च्याम्पीयन हो, माओवादीलाई चीन/भारतले समेत प्रयोग गरे, भारतीय इसारामा कांग्रेसको जन्म भयो ।’
नेता गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिष्पर्धा गर्न नसक्ने बताए । एमालेको विचारसँग प्रतिष्पर्धा गर्ने तागत कसैसँग नरहेको उनले दावी गरे । पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको उनले आरोप लगाए ।
त्यस्तै एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले अदालतको परमादेशबाट सरकारबाट बाहिरनु परे पनि एमाले जनताको मनमा बस्न सफल पार्टी भएको दावी गरे । उनले एमालेको एकल बहुमतको सरकार बनाउने गरी लागेको बताए ।
पार्टीका पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इञ्चार्ज सुर्य थापाले संगठनलाई प्रविधिमैत्री बनाउँदै जानुपर्ने बताए ।
एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासमा एमाले नेतृत्वको सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।
पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सही विचारधारामा आधारित पार्टी एमाले रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij